सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना


गोविन्द बानियाँ, दक्षिण कोरिया ।
दक्षिण कोरियामा रहेका नेपाली तथा नेपाली संगीतप्रेमीहरूका लागि बहुप्रतीक्षित सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन सउल २०२६’ को तयारी तीव्र पारिएको छ । आगामी सेप्टेम्बर २५, २०२६ मा आयोजना हुने कन्सर्टबारे विस्तृत जानकारी दिन आयोजकले शनिवार पत्रकार सम्मेलन आयोजना गरेको हो ।

पत्रकार सम्मेलनमा आयोजकहरूले कन्सर्टको उद्देश्य, कार्यक्रमस्थल, टिकट व्यवस्थापन, सुरक्षा प्रबन्ध, कलाकारहरूको सहभागिता तथा कार्यक्रमको तयारीका विषयमा जानकारी गराएका थिए । नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय लोकप्रिय ब्यान्ड नेपथ्यले दक्षिण कोरियामा रहेका नेपाली दर्शकमाझ आफ्ना लोकप्रिय तथा चर्चित गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछ ।

आयोजकका अनुसार कन्सर्टमा दक्षिण कोरियाका विभिन्न शहरमा रहेका हजारौं नेपाली तथा नेपाली संगीतप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन आयोजक समिति, विभिन्न संघसंस्था तथा स्वयंसेवकहरू परिचालन गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले कार्यक्रम व्यवस्थापन, टिकट बिक्री, दर्शकको प्रवेश, सुरक्षा तथा कलाकारहरूको आगमनलगायत विषयमा प्रश्न राखेका थिए । आयोजकहरूले कार्यक्रमलाई दक्षिण कोरियामा नेपाली सांगीतिक प्रस्तुतिको एउटा विशेष अवसरका रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् ।

६० हजार वनदेखि टिकट

कन्सर्टका लागि सामान्य टिकटको मूल्य ६० हजार वन तोकिएको छ भने भिआइपी टिकटको मूल्य १ लाख वन रहेको आयोजकले जनाएको छ ।

टिकट अनलाइन तथा अफलाइन दुवै माध्यमबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । अनलाइन टिकट हानपासमार्फत उपलब्ध हुने बताइएको छ । त्यस्तै, अफलाइन टिकट खरिदका लागि दोङ्देमुनस्थित रोयल इन्डियन रेष्टुरेण्ट तथा सुवनस्थित भेटघाट रेष्टुरेण्टबाट टिकट उपलब्ध हुने जानकारी दिइएको छ ।

दर्शकहरूको सहजतालाई ध्यानमा राख्दै आयोजकले टिकट डेलिभरीको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

बेलुका ७ बजे कार्यक्रम सुरु

आयोजकका अनुसार कन्सर्टका दिन बेलुका ५ बजेबाट हलको ढोका खुल्नेछ भने कार्यक्रम ठिक ७ बजेबाट सुरु हुनेछ । दर्शकहरूलाई समयमै कार्यक्रमस्थलमा पुग्न आयोजकले आग्रह गरेको छ ।

कन्सर्ट किन्टेक्स (KINTEX) मा आयोजना हुनेछ । आयोजकका अनुसार सउल स्टेसनबाट करिब १७ मिनेटमै पुग्न सकिने भएकाले राजधानी सउल तथा आसपासका क्षेत्रबाट आउने दर्शकका लागि समेत कार्यक्रमस्थल सहज रहेको छ ।

नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न लामो समयदेखि प्रतीक्षामा रहेका दक्षिण कोरियाका नेपाली दर्शकका लागि यो कन्सर्ट विशेष सांगीतिक अवसर बन्ने अपेक्षा गरिएको छ । नेपाली संगीतलाई कोरियाली भूमिमा अझ व्यापक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन सउल २०२६’ लाई भव्य रूपमा सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीहरूलाई सहभागिताका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित