दक्षिण कोरियामा रहेका निर्मल घर्ती मगरको शब्दमा ‘कुहिरो’ म्युजिक भिडियो सार्वजनिक

स्वरूपराज आचार्यको स्वर, निर्मल घर्ती मगर र आइशा पुरीको अभिनयमा प्रेम, त्याग र प्रतीक्षाको कथा

गोविन्द बानियाँ, दक्षिण कोरिया ।

दक्षिण कोरियामा रहेर नेपाली गीतसङ्गीत क्षेत्रमा सक्रिय निर्मल घर्ती मगरको शब्द रचनामा तयार भएको नयाँ गीत ‘कुहिरो’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक स्वरूपराज आचार्यको स्वर रहेको गीतको भिडियोमा आइशा पुरी, निर्मल मगर, एसबी राना मगर, सुरेश बस्नेत र सुदन बस्नेतले अभिनय गरेका छन्।

पदम राजन मगरको सङ्गीत तथा एरेन्ज रहेको गीतमा नगेन्द्र विक्रम राईको बाँसुरी, सञ्जीव बराइलीको गितार र सन्तोष भक्त श्रेष्ठको इसराज वादन सुन्न सकिन्छ। योगेन मुकारुङले रेकर्डिङ गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन्। गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो।

प्रेम, त्याग, विछोड र प्रतीक्षाको भावनात्मक कथामा आधारित भिडियोमा दुई अपरिचित व्यक्तिबीचको सम्बन्ध मौनताबाट सुरु भई गहिरो प्रेममा परिणत भएको देखाइएको छ। तर परिस्थितिले उनीहरूको सम्बन्धमा अप्रत्याशित मोड ल्याउँछ। कर्तव्यका कारण पुरुष पात्रले प्रेमिकासँग उचित बिदाइसमेत नगरी टाढिनुपर्ने अवस्था सिर्जना भएपछि कथाले अधुरो प्रेम र अनिश्चित प्रतीक्षाको पीडालाई उजागर गर्छ।

भिडियोको ड्रोन छायाङ्कन, अवधारणा तथा निर्देशन सञ्जीव श्रेष्ठले गरेका हुन् भने क्यामेराको जिम्मेवारी सु प्रेमले सम्हालेका छन्। भिडियोको सम्पादन तथा कलर ग्रेडिङ अनुप राई (बीएच स्टुडियो) ले गरेका छन्। भिडियोमा भीएफएक्सको काम सन्नी थापा मगरले गरेका हुन्।

दक्षिण कोरियामा रहेर नेपाली गीत सङ्गीत सिर्जनामा योगदान दिइरहेका निर्मल मगरको शब्द र स्वरूपराज आचार्यको भावपूर्ण गायनले सजिएको ‘कुहिरो’ ले प्रेम र विछोडका अनुभूतिलाई सङ्गीत तथा दृश्यका माध्यमबाट प्रस्तुत गरेको छ। भावनात्मक कथावस्तु र कलाकारहरूको अभिनय समेटिएको यस भिडियोले नेपाली सङ्गीतप्रेमीको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘कुहिरो’ को आधिकारिक म्युजिक भिडियो YouTube मार्फत हेर्न सकिन्छ।

भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=G-ApfM4Jtus

 

प्रतिक्रिया

सम्बन्धित