दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

गोविन्द बानियाँ, सउल । नेपालको मौलिक खेल डन्डीबियोलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दक्षिण कोरियामा पहिलोपटक ‘प्रथम डन्डीबियो प्रतियोगिता’ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजक सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगितासम्बन्धी औपचारिक जानकारी सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार प्रतियोगिता आगामी अक्टोबर ११, २०२६ आइतबार सउलस्थित हान नदी परिसरमा आयोजना हुनेछ । प्रतियोगितामा अधिकतम १६ टोली सहभागी हुन पाउनेछन् भने प्रत्येक टोलीमा पाँच जना खेलाडी रहने व्यवस्था गरिएको छ। सहभागी टोलीका लागि दर्ता शुल्क १ लाख ५० हजार कोरियन वन निर्धारण गरिएको छ । प्रतियोगितामा विजेता टोलीलाई १० लाख कोरियन वन तथा उपविजेतालाई ५ लाख कोरियन वन नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसका साथै उत्कृष्ट खेलाडी (Best Player), उत्कृष्ट ठ्याक खेलाडी (Best Thyak Award) र उत्कृष्ट क्याच खेलाडी (Best Catch Award) लाई विशेष सम्मानसमेत प्रदान गरिनेछ। पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, खेल सञ्चालन प्रक्रिया, सुरक्षा व्यवस्थापन तथा नेपालको मौलिक खेल डन्डीबियोलाई दक्षिण कोरियामार्फत अन्तर्राष्ट्रिय समुदायमा चिनाउने अभियानबारे जानकारी दिइएको थियो।

प्रतियोगितालाई निष्पक्ष, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि आयोजकले व्यक्त गरेको छ। प्रतियोगिताका लागि टोली दर्ता खुला गरिएको जनाउँदै इच्छुक टोलीहरूलाई समयमै दर्ता गराउन आयोजकले आग्रह गरेको छ। आयोजक सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नेपालको मौलिक खेलको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सञ्चालन गरिएको यस अभियानलाई सफल बनाउन दक्षिण कोरियामा रहेका नेपाली समुदाय, सञ्चारकर्मी, विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुक सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

 
 
 

प्रतिक्रिया

सम्बन्धित