मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने
नेपालबाट पनि भव्य सहभागिता हुने
गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सउल आगामी मे १६ तारिखमा महिनामा एकैपटक लाखौँ रङ्गीन लालटिनले झिलिमिली हुने भएको छ।
बुद्ध जयन्तीको अवसरमा आयोजना हुने विश्वप्रसिद्ध ‘लोटस ल्याण्टर्न फेस्टिभल २०२६’ मा विगतमा जस्तै यसपटक पनि नेपालले भव्य सहभागिता जनाउने तयारी गरेको छ।
नेपाल बौद्ध परिवार, दक्षिण कोरियाको संयोजनमा “Buddha Was Born in Nepal” भन्ने नारासहित नेपालले बुद्ध जन्मभूमि लुम्बिनीको सन्देश विश्वसामु पुर्याउने भएको हो । करिब १२०० वर्ष पुरानो इतिहास बोकेको यो उत्सव दक्षिण कोरियाको सबैभन्दा ठूलो बौद्ध सांस्कृतिक पर्वमध्ये एक मानिन्छ। सन् २०२० मा युनेस्कोद्वारा सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिएको यो फेस्टिभल अहिले विश्वकै चर्चित सांस्कृतिक उत्सवमध्ये पर्न थालेको छ । आयोजकका अनुसार मुख्य परेडमा मात्रै करिब ५० हजारभन्दा बढी मानिस प्रत्यक्ष सहभागी हुने अपेक्षा गरिएको छ भने सम्पूर्ण फेस्टिभल अवधिभर ३ लाखभन्दा बढी कोरियन तथा विदेशी दर्शक सहभागी हुने अनुमान गरिएको छ। नेपाल, श्रीलंका, भुटान, थाइल्यान्ड, म्यानमार, बंगलादेशलगायत २० भन्दा बढी देशका समुदाय तथा प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।

नेपाल बौद्ध परिवारका अनुसार कार्यक्रमको पहिलो दिन मे १६, शनिबार सउलस्थित दोङगुक विश्वविद्यालय क्षेत्रमा ‘लुम्बिनी ल्याटर्न रथ तथा शान्ति पदयात्रा’ आयोजना गरिनेछ। दिउँसो ४ बजेदेखि सुरु हुने पदयात्रामा बुद्ध धर्मसँग सम्बन्धित झाँकी, विशाल रथ यात्रा, दीप तथा रङ्गीन लालटिनसहित हजारौँ सहभागी सडकमा उत्रिनेछन्। नेपालको तर्फबाट हुने सहभागिताका लागि दक्षिण कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थासँग समन्वय तथा कार्य विभाजनसमेत सम्पन्न भइसकेको जनाइएको छ ।
यस्तै दोस्रो दिन मे १७ आइतबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली सांस्कृतिक झाँकी, थाङ्का कला प्रदर्शनी, बौद्ध परम्परासम्बन्धी प्रस्तुति, नेपाली सांगीतिक कार्यक्रम तथा सांस्कृतिक प्रदर्शन गरिनेछ। आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपालको सांस्कृतिक पहिचान र शान्तिको सन्देश प्रवाह गर्न आग्रह गरेको छ। ‘लोटस ल्याण्टर्न फेस्टिभल’ लाई केवल धार्मिक कार्यक्रमका रूपमा मात्र नभई शान्ति, सहअस्तित्व र मानवताको उत्सवका रूपमा पनि लिने गरिन्छ। कोरियन संस्कृतिमा कमललाई पवित्रता, ज्ञान, आशा र उज्यालोको प्रतीक मानिन्छ।
बुद्धको शिक्षाअनुसार “अन्धकारमाथि ज्ञानको उज्यालो फैलाउने” सन्देशसहित प्राचीनकालदेखि दीप तथा लालटिन बाल्ने परम्पराबाट यो उत्सव सुरु भएको मानिन्छ। विशेषगरी रातिको समयमा हुने विशाल ल्याण्टर्न परेड यस फेस्टिभलको मुख्य आकर्षण मानिन्छ। सउलका सडकहरू हजारौँ रङ्गीन कमल आकारका लालटिनले सजिने दृश्य हेर्न विश्वभरबाट पर्यटक तथा बौद्ध धर्मावलम्बीहरू पुग्ने गर्दछन्। ध्यान, प्रार्थना, मन्दिर सजावट, सांस्कृतिक प्रस्तुति तथा शान्ति पदयात्राले सहरलाई नै उज्यालो र शान्तिको सन्देशले भरिने विश्वास गरिएको छ।

नेपाल बौद्ध परिवारले यसपटकको सहभागितामार्फत बुद्ध जन्मभूमि नेपाल र लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया