नेपाली चिया प्रवर्द्धनका लागी दक्षिण कोरियामा ‘स्वाद परिक्षण’ कार्यक्रम
गोविन्द बानिया, सउल दक्षिण कोरिया ।
नेपाली चियाकाे प्रवर्द्धन गर्ने उद्धेश्यले दक्षिण कोरियामा चिया स्वाद परीक्षण अर्थात् टि टेस्टिङ कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना, टि सोमिलियर इन्स्टिच्युटको सहयोग तथा नेपाल चिया तथा कफी विकास बोर्डको समन्वयमा नेपाली चियाको अन्तर्राष्ट्रिय बजार विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाली चिया स्वाद परीक्षण कार्यक्रम’ आयोजना गरिएको हो । आज अप्रिल २९ बुधबार आयोजित कार्यक्रममा ३० भन्दा बढी कोरियन चिया आयात कर्ता तथा ६ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले नेपाली चियाको विविधता, गुणस्तर र सम्भावनाबारे प्रकाश पार्दै यस कार्यक्रमलाई कोरियाली बजारमा नेपाली चिया परिचित गराउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्नुभयो । उहाँले यस्तो पहलले दुई देशका चिया व्यवसायीबीच सहकार्य र संवादलाई थप मजबुत बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले हिमाली क्षेत्रका स्वच्छ वातावरणमा उत्पादन हुने नेपाली चियामा विशिष्ट स्वाद र उच्च गुणस्तर रहेको उल्लेख गर्दै कोरियाली बजारमा यसको राम्रो सम्भावना रहेको बताउनुभयो । दूतावासका अनुसार उक्त कार्यक्रम नेपालमा मनाइने राष्ट्रिय चिया दिवस (वैशाख १५) को अवसरमा आयोजना गरिएको हो।

कार्यक्रममा कोरिया टी सोमेलियर संस्थाका प्रमुख शन एस. जुङले नेपाली चियाको सुगन्ध र स्वादको प्रशंसा गर्दै यसलाई “हिमालयको उपहार” को रूपमा व्याख्या गर्नुभयो । उहाँले कोरियाली उपभोक्तामाझ नेपाली चिया प्रवर्द्धन गर्न आफ्नो संस्थाले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको समापनमा दूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईले सहभागी तथा सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै नेपाल र दक्षिण कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरूले विभिन्न नेपाली चियाको स्वाद लिनुका साथै विचार आदान–प्रदान र सम्भावित व्यापारिक साझेदारीको विषयमा छलफल गरेका थिए। कार्यक्रम अन्त्यमा आपसी सम्बन्ध विस्तारका लागि अन्तरक्रिया सत्र पनि आयोजना गरिएको थियो । दूतावासले जनाए अनुसार यस कार्यक्रममार्फत नेपाली चिया प्रवर्द्धन, दुई देशका व्यवसायीबीच सम्बन्ध विस्तार तथा व्यापारिक सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

हाल नेपालबाट उत्पादित अर्थोडक्स चिया विशेषगरी जापान, जर्मनी, अमेरिका लगायतका बजारमा निर्यात हुँदै आएको छ भने पछिल्ला वर्षहरूमा दक्षिण कोरियातर्फ पनि निर्यात विस्तार हुने क्रम बढ्दो छ। नेपालले वार्षिक रूपमा करिब २५ हजार मेट्रिक टन चिया उत्पादन गर्ने गरेको छ, जसको झण्डै आधा हिस्सा निर्यात हुने गर्दछ । दक्षिण कोरिया चिया उपभोग गर्ने उदीयमान बजारमध्ये एक मानिन्छ, जहाँ विशेषगरी उच्च गुणस्तरका विशेष चियाप्रति रुचि बढ्दै गएको छ। कोरियाली बजारमा नेपाली चियाको हिस्सा अझै सीमित भए पनि यसको सम्भावना उच्च रहेको सरोकार वालाहरूको भनाइ छ ।
नेपालमा प्रत्येक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइन्छ। यस दिनलाई नेपालको चिया उद्योगको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले विशेष रूपमा मनाउने गरिन्छ। यस दिवसको ऐतिहासिक पृष्ठभूमि सन् १८६३ मा इलाम जिल्लामा पहिलोपटक चिया खेती सुरु भएको घटनासँग जोडिएको छ। तत्कालीन समयमा इलामको फिक्कल क्षेत्रमा चिया रोपाइँ सुरु गरिएको थियो, जसलाई नेपालको चिया उत्पादनको सुरुआतका रूपमा लिइन्छ ।
1920
1280
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया