सुदूरपश्चिम समाज दक्षिण कोरिया विभाजित, एकै दिन दुई फरक कार्यसमिति गठन, आन्तरिक विवाद चरमोत्कर्षमा
गोविन्द बानियाँ, सउल, दक्षिण कोरिया |
दक्षिण कोरियामा विगत लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको सुदूरपश्चिम समाज दक्षिण कोरिया आन्तरिक विवादका कारण औपचारिक रूपमा विभाजित भएको छ। समाजको १९औँ अधिवेशनपछि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि आज एकै दिन दुईवटा छुट्टाछुट्टै कार्यसमिति गठन भएसँगै संस्था स्पष्ट रूपमा दुई धारमा विभाजन भएको हो।
गत जनवरी १८ मा सम्पन्न सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ अधिवेशनको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भए पनि बन्द सत्रमा नयाँ कार्यसमिति चयन गर्न नसक्दा संस्थाभित्र गहिरिँदै गएको विवाद सतहमा आएको थियो। सोही अधिवेशनपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको, प्रस्तावहरूमाथि सहमति कायम हुन नसकेको र समय अभावका कारण अधिवेशन अपूरो रूपमा टुंगिएको समाजकै आधिकारिक प्रतिवेदनमा उल्लेख गरिएको छ। पछिल्लो समय दक्षिण कोरियामा बिभिन्न संस्थामा मतभेद, विभाजन र फुटको शिलशिला बढ्दो छ । जसमा प्रमुख कारण राजनिती देखिएको छ । बिभिन्न राजनितिक दलका प्रवास संगठनहरुमा आवद्ध व्यक्तीहरुबिच प्रतिष्पर्धा र गुटवन्दीले कोरियाको नेपाली समाज विखण्डीत बन्दै गैरहेको छ ।
संरक्षक समितिलाइ जिम्मेवारी लिएपछी दुई अलग कार्यसमिति
संस्थाको विधान अनुसार उत्पन्न संवैधानिक संकट समाधानका लागि संरक्षक समितिको बैठक बसेर निर्णय प्रक्रिया अगाडि बढाइएको थियो। संरक्षक समितिको अध्यक्षता प्रमुख संरक्षक डा. अग्नि राज कोईरालाले गरेका थिए। उक्त बैठकले अवरुद्ध अवस्थामा रहेको १९औँ कार्यसमिति गठन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि दुई फरक धारले आ–आफ्नो पक्षबाट कार्यसमिति घोषणा गरेका हुन्।
ओम साउदको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति गठन


संरक्षक समितिको निर्णयको आधारमा ओम साउदको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति गठन गरिएको घोषणा गरिएको छ। उक्त समितिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा विभिन्न जिल्लाका प्रतिनिधिहरू समेटिएका छन्। यस समूहले आफूहरू नै वैधानिक कार्यसमिति भएको दाबी गरेको छ।
दिपेन्द्र बहादुर रोकायाको अध्यक्षतामा अर्को कार्यसमिति

यता, अर्को पक्षले दिपेन्द्र बहादुर रोकायाको अध्यक्षतामा छुट्टै कार्यसमिति गठन भएको घोषणा गरेको छ। यस समूहले पनि विधान, अधिवेशन र संरक्षक समितिको निर्णय प्रक्रियालाई आधार मानेर आफूहरू नै वैधानिक नेतृत्व भएको दाबी गरेको छ।
संस्थागत इतिहासमै गम्भीर संकट
दुई दशकभन्दा लामो इतिहास बोकेको सुदूरपश्चिम समाज दक्षिण कोरिया यसरी औपचारिक रूपमा विभाजित हुनु संस्थाको इतिहासमै गम्भीर संकटको रूपमा हेरिएको छ। कोरियामा रहेका हजारौँ सुदूरपश्चिमेली नेपालीहरूको साझा सामाजिक संस्था मानिने यस समाजले आपतकालीन उद्धार, आर्थिक सहयोग, स्वास्थ्य सहायता, शव व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तथा सामाजिक एकताको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।
तर पछिल्लो समय बढ्दै गएको आन्तरिक शक्ति संघर्ष, नेतृत्वको प्रतिस्पर्धा, अविश्वास र संवादहीनताले संस्थालाई कमजोर बनाउँदै लगेको सरोकारवालाहरू बताउँछन्।
समुदायमा बढ्दो चिन्ता
संस्थाभित्रको विवाद समाधानतर्फ नलागे सुदूरपश्चिमेली समुदायबीच थप विभाजन हुने, सामाजिक सद्भाव कमजोर बन्ने र भविष्यमा हुने सामूहिक अभियानहरू प्रभावित हुने चिन्ता समुदायस्तरमा बढ्दै गएको छ।
वरिष्ठ सदस्यहरू तथा पूर्व पदाधिकारीहरूले संवाद, सहमति र समझदारीमार्फत तत्काल एकता कायम गर्न अपिल गर्दै आएका छन्। उनीहरूका अनुसार व्यक्तिगत महत्वाकांक्षा भन्दा सामूहिक हितलाई प्राथमिकता दिइनु आजको आवश्यकता हो।
एकताका लागि संवाद अपरिहार्य
सुदूरपश्चिम समाज दक्षिण कोरिया विभाजनको यो अवस्थाले प्रवासी नेपाली समुदायभित्र संस्थागत एकताको महत्व र चुनौती दुवैलाई उजागर गरेको छ। अब दुबै पक्ष जिम्मेवार ढंगले वार्तामा बसेर साझा समाधान खोज्न नसके समाज मात्र होइन, समग्र सुदूरपश्चिमेली समुदाय नै यसको प्रत्यक्ष मारमा पर्ने स्पष्ट देखिन्छ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
प्रतिक्रिया