कविता - यस्तो खबर सुनाउँदै नसुनाउनु
- दिपा मेवाहाङ राई
यस्तो खबर सुनाउँदै नसुनाउनु
उमेरको अन्तिम डोरी पक्रीएर
सिकुवाबाट छोराको बाटो हेरिरहेकि
ती आमालाई सुनाउँदै नसुनाउँनु
छोरा भर्खरै मेसिन संग जुध्दा जुध्दै
सधैको लागि हार्यो भनेर
फर्किने बाचा गरेर
छुटेको एक जोडी प्रेमी
जसले चढाएको थियो
देउरालीलाई प्रेमको नासोमा
फूलको केही थुङ्गा
ती प्रेमीजोडीलाई सुनाउँदै नसुनाउँनु
ती फूल ओइलिसक्यो भनेर
जसले बिस्कुटका केही पुरिया
केहीथान चकलेटको आशामा
बचपन आफ्नो बाबू बिना बिताएको छ
ती सन्तानलाई सुनाउँदै नसुनाउँनु
कि अब गुलियो बोकेर
उसका बा कहिलै आउने छैन
कक्षा कोठाको एक कुनामा
क्यानभासले भबिस्य कोरिरिरहेको
ती मासुमनानीलाई सुनाउँदै नसुनाउँनु
कि अब कुची छोडेर
बन्दुकले देशको चित्ररेखा कोर्नु पर्छ भनेर
एउटा प्रेमीका जसले आफ्नो प्रेमिलाई
फर्किन्छ भनेर आधा मुटु हातमा
थमाईदिएकी थिइन ती प्रेमिकालाई सुनाउँदै नसुनाउँनु
कि अब त्यो आधा मुटु
अर्को पूरा मुटुको नाममा
समर्पित भै सक्यो भनेर
हो त्यस्तो खबर सुनाउँदै नसुनाउँनु
जसलाई सुन्न मन नहुदा नहुँदै पनि
सुन्नै पर्ने हुन्छ
र, जसले सुनाउन मन नहुदा हुँदै पनि
बाध्य भएर सुनाउनु पर्ने छ ।
प्रतिक्रिया