‘लगानी सम्मेलनमा विदेशी लगानीकर्ता, एनआरएन र स्वदेशी निजी क्षेत्रलाई प्राथमिकता’

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन्। शुक्रबार भएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा मन्त्री महतले उक्त निर्देशन दिएका हुन्।

आगामी बैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली (एनआरएन) र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उनले बताए। सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न मन्त्री महतले निजी क्षेत्रलाई आह्‍वान समेत गरे।

आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल सरकारले आयोजना गर्न लागेको हो। बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्म भएका तयारीबारे प्रस्तुतीकरण गरेका थिए।

लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा सचिवालय गठन गरी काम अगाडि बढाएको छ।

साथै, नीतिगत, प्रक्रियागत र कानुनी सुधारका लागि प्रधानमन्त्री कार्यालयका सचिव (आर्थिक पूर्वाधार महाशाखा) को संयोजकत्वमा कार्यदल गठन भएको छ। यी सबै समिति र कार्यदलहरूले आ-आफ्नो क्षेत्रमा सक्रियतापूर्वक कार्य गरिरहेको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित