विदेश कहिले जान्छस् ?
हिजोआज घर–घरमा, गल्ली–गल्लीमा, चोकचोकमा चल्ने, सुन्ने कुरा विदेशकै छ । समाचारका हेडलाइन ‘यति विदेशिए, उति विदेशिए’ देखिन्छ । सामाजिक सञ्जालतिर विमानस्थलमा लाइन लागेका युुवाका फोटा देखिन्छन्, राहदानी विभागतिरका फोटा आउँछन्, ठेलमठेल ।
यही दृश्य देख्दादेख्दा राम्रोसँग ननिदाएको पनि धेरै भएछ । बिहान उठ्छु, यसो मोबाइलमा हात जान्छ । देख्छु–कन्सल्टेन्सीको बधाईका पोस्ट । यसो स्क्रोल गर्छु । देखिन्छ, ‘शुभयात्रा साथी, भाञ्जा, भाइबहिनी, छोराछोरीहरु !’
यी सबै कुरा छोडेर आफ्नै कामलाई फोकस गर्छु भन्छु । फेरि त्यही कुराले छोड्दैन । घरमा पियारी भन्छिन्, ‘बाबा, हैन हजुर नजाने हो भने म नै जान्छु ।’ कति रहर हो हामीलाई अरूको देशमा गएर, अरूको पाउ मोलेर पेट पाल्न ।
हैन साँच्ची नै नेपालमा भविष्य नभएकै हो त ? दिक्क लाग्छ र लाग्छु झोला बोकेर डाँडाकाँडा । त्यता जाँदा नि छाड्दैनन् यही कुराले यसो गाडीका गुरूजीलाई सोध्छु, ‘कस्तो छ कमाइ ?’
उत्तर पाउँछु, ‘कमाइत यताउता गरेर राम्रै हुन्छ । तर, बच्दैन । अब बाहिर जान लागेको, भिसा कुर्दैछु ।’ यी सबै कुरा लेख्छु भनेर उतार्दाउतार्दा फेरि दिक्क लाग्छ । तर, सानो आशाको दियो बाँकी नै छ । सुन्नु छ ‘यहीँ छ भविष्य छ’ भनेर भनिदिने कोही भेट्छु कि भन्ने ।
एक दिन कफी खाँदै गर्दा एकजना दाइ टुपुलुक्क आइपुग्नु भो । उहाँसँग यी भडास पोखें । आशा थियो–दाइबाट केही न केही राम्रै, कानले सुन्न चाहेको कुरा सुन्न पाउँछु । तर, फेल भएँ ती दाइ पनि २ महिनापछि क्यानडा सपरिवार जाँदै हुनुहुँदो रहेछ । भन्नुभो, ‘भाइ लागे हुन्छ तिमी पनि ।’
‘हुन्छ दाइ जाने हो । तर, अहिले केही राम्रै छ व्यापारमा अल्लिपछि तिर सोच्नु पर्ला’, उत्तर दिएँ ।
‘तिमी हाम्रो जिन्दगी जसोतसो काटौला ! तर, बच्चाको भविष्य हेर्नुपर्छ’, दाइको सुझाव ।
आफ्नै भविष्य बनाउन लागिरहेको बेला छोराको भविष्य म कसरी सोच्न सकुँदा ? पहिला आफ्नो भविष्य राम्रो बनाउन सक्नुपर्छ र बनाउँछु भन्ने हो । मेरो भविष्य गतिलो भएपछि त पक्कै पनि छोरोको राम्रो हुनेछ ।
सयौं दाइ, भाइ, दिदीबहिनी बुबाआमाहरूसँग सल्लाह मागीमागी दिक्दार भएँ । कोही भेटिएनन्, जसले भनिदेओस्–यहीँ छ भविष्य छ । म आफूले पनि जहिल्यै स्वदेशमै आफ्नो भविष्य देख्न खोजें । विदेश नछिरी यही आफ्नो मूलथलोमै जरो गाड्न खोजें ।
एक दशक वेटर, क्याप्टेन, सुपरभाइजर म्यानेजर हँुदै हजारौं जुठाभाँडा उठाइउठाई काम गरें । व्यवसायमा आएर पनि २/३ कम्पनी चुर्लुम्म डुबाएर यहाँसम्म आएँ । यति गर्दा पनि के यो देशमा मेरो भविष्य छैन त ?
दु:ख मेहनत गरी अहिले १२/१४ जना कर्मचारीलाई रोजगार दिई कुनै दिन पनि उनीहरूको मन नदुखाई ‘बेस्ट ओनर’ बन्न खोज्दैछु । उनीहरू सँगसँगै आफ्नो चुलो पनि बालिरहँदा अझै म मेरो भविष्य खोज्नुपर्ने हो ? मैले आफ्नो भविष्य खोज्दै गर्दा उनीहरूको भविष्यचाहिँ के हो?
मेरो सानैदेखिको सपना थियो, ‘मेहनत गर्छु र एक दिन भविष्यमा राम्रो साहु बन्छु ।’ अहिले सब ठीकठाक छ, व्यापार राम्रै छ । आफ्नो कामप्रति, प्राप्तिप्रति खुसी नै छु । र पनि कोही हुरीझैं आउँछन् र भनिहाल्छन्, ‘यो देशमा तेरो भविष्य छैन । विदेश कहिले जान्छस् ?’
मलाई थाहा छैन–यो देशमा भविष्य छ या छैन । मलाई थाहा छैन – भविष्य भनेको के रहेछ ?
केही समय पहिले विदेश जान्छु भनेर विदेशिएका सबै मित्रसँग कुराकानी गरेँ । अहँ त्यहाँ पनि कहाँ सजिलो रैछ र ? एकरात छिमेकीको घरमा गएर सुतेजस्तो दुखजिलो होइन रहेछ परदेश । यहाँ त कुरा छ अरूको देशमा गएर कमाएर जीविका चलाउनु छ ।
अनि अझै बस्न, कमाउन र भविष्य सुनिश्चित गर्न पीआर लिनुपर्ने रे ! अनि, फेरि सर्वस्व त्यागेर त्यसैको पछि डौडिनुछ । पीआर पाए त केही हदसम्म ठीकै होला, नपाए ? के हो यस्तो बाध्यता ? जसले देशै छोड्न बाध्य पारिरहेको छ । आफ्नै जन्म थलोलाई सरापीसरापी अर्काको देशको दोस्रो दर्जाको नागरिक भएर बाँच्नु नै भविष्य हो त हाम्रो ?
के हामीले आफ्नो काम, व्यापारमा विदेशमा जतिनै मेहनत र समय दिएका छौं त ? अन्योल नै अन्योलको जिन्दगीमा बाँच्नुपर्ने हामी सबै हौं या ममात्र ? समस्या आखिर कहाँ छैन होला ! आफ्नै ठूलो महत्वाकांक्षा या देशको व्यवस्था ?
हो केही हदसम्म ठूलो महत्वाकांक्षी जीवनयापन पनि होला । सरल जीवनयापनले यो त सल्टेला तर देशको सिस्टम ? मेरो सोचाइभन्दा बाहिरको कुरो पर्यो । गर्ने चाहिँ के ? ‘यही बस, हामी साथ दिन्छौं’ भन्न नसक्ने यो हाम्रो कस्तो राज्य ?
दोषचाहिँ कसको ? बुझ्न नसकेको हामी या बुझाउन नसकेको यो राज्य व्यवस्था ? जब विदेश गइरहेको देश देख्छु । दुख्छु र, यसैउसै भडास पोख्न मन लाग्छ ।
प्रतिक्रिया